Call Now010-402332

Send Message[email protected]

Our LocationGajuri 1, Dhading

आदर्श क्याम्पसका कविताहरू

आदर्श क्याम्पसका कविताहरू

आदर्श क्याम्पसका कविताहरू

आदर्श बहुमुखी क्याम्पसआदर्श बहुमुखी क्याम्पस, गजुरीको नेपाली भाषा शिक्षा विभाग तथा अतिरिक्त क्रियाकलाप समितिले २०६ औं भानुजयन्तीको पूर्वसन्ध्यामा गजुरी गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित जिल्लाव्यापी क्याम्पस स्तरीय खुला कविता प्रतियोगितामा प्रस्तुत प्रथम, द्वित्तीय, तृतीय र चतुर्थ कविताहरु ः

 

१. प्रथम स्थान हासिल गर्न सफल कविताः

के हौसला मिल्छ स्वदेश छाड्न ??
विजय तामाङ
नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङ
छन्द ः उपजाति

नेपाल यौटै अमरावती हो
अरू कुनै स्वर्ग बनावटी हो ।
जहाँ छ हाम्रो सपना विशेष
हामी बचेरा गुँड झैँ छ देश ।। २
उडेर जानेसित गर्छु प्रश्न
‘के हौसला मिल्छ स्वदेश छाड्न ?
पछ्याउँदैछौ जब रात कालो
भविष्य हुन्थ्यो कसरी उज्यालो ??

बाटो बिराएर हिँडे समान
पुग्छौ बिरानो वन वा चिहान ।
रुखो छ बाटो तन दुख्न थाल्छ
रुखो छ बोली मन दुख्न थाल्छ ।।

संसार रित्तो मन हुन्छ भारी
के गर्न सक्छौ र समुद्र पारि ?
न हुन्छ पीडा कम ओखतीले
सुन्छन् न रोए जननी, पिताले !!


हो सम्झना जेल जहाँ बसेर
साँचिन्न राम्रा सपना, विचार ।
आँखा हुनेछन् जहिल्यै उजाड
के अर्थ भो उत्सव, चाडबाड ।।

फर्केर आए नि दसैँ(तिहार
हुनेछ तिम्रो घर अन्धकार ।
आमाबुबा श्रावणको झरीमा
बग्छन् कि बाढीसित गोधुलीमा ।


तिमी उता द्रव्य बटुल्न थाल्छौ
सुगन्ध आफ्नै पनि भुल्न थाल्छौ ।
बस्छौ महासागरमा डुबेर
कि आउनेछौ घरमा अबेर ??

२. द्वित्तीय स्थान हासील गर्न सफल कविताः

रजस्वला
– साम्भवी थापा
(वि.वि.एस. प्रथम वर्ष)
आदर्श बहुमुखी क्याम्पस
देशको चिच्याहट
जङ्गलका कुनाकाप्चा र कन्दरामा सुनिन्थे
हो, ठ्याक्कै त्यही बेला
मलाई रजस्वलाको व्यथाले च्यापेको थियो
अनि देश जनयुद्धमा होमिएको थियो ।
आँशुका खहरेमा तड्पिएकी साइँली आमाको काख
सिउँदो पुछिएकी मेरी काकीलाई हेर्छु
वैशाखी टेकी एक्काइस वर्षे जवानीमा
म बारुद, गोली अनि बन्द र हड्ताल बोकेर
म नेपाल आमालाई हेर्छु
उनी मलाई हेर्छिन्
म उनलाई हेर्छु ।

अँध्यारो ओढारको बासमा
मुसलधारे पानी परेको बेला
ओठमा गाँस होइन
देश पक्कै उदाउनेछ भन्ने
आश थियो ।
देश घुँक्कघुक्क गरी रोइरहेको बेला
म रक्तिम शरीरको बोझमा
रजस्वलाको पोखरीमा डुबिरहेकी थिएँ
मन त्यसै त्यसै काँपेको थियो
हातमा थमाइदिएका राइफलहरू
देश स्वयम् रोएको बेला
त्यही आँशु पिएर
म रजस्वलाको कहर काटिरहेकी थिएँ ।

झुत्रो, मैलो र टाटो बसेको मेरो कपडा
म नवीन युगका आशा र आकाङ्क्षालाई
बन्दुकको नालभित्र भिर्न सक्दिनथेँ
जनभावका वेदना एक झोला बटुलेर
उही क्षितिजतिर टोलाइरहेकी थिएँ ।

रजस्वला– म नारी र नारी हुनुको प्रतीक हो
जिन्दगीको रहस्य
म भित्रको कठासो
म पत्रपत्र सुस्तरी खोल्दै थिएँ
रजस्वला भएपछि
म बोध गर्दै छु, नारीत्व ओढेर
म मातृभूमिको गाला छाम्दै छु
हो यो विकराल झन्झट भिरेर
म रगतको आहालमा डुब्दै उत्रँदै
यो धर्तीका लागि निरन्तर निरन्तर लडिरहेँ
किनकि
ढाक्रे, भरिया, माने र भक्ते दाइको भारीमा
न्याय मिलाउन बाँकी छ ।

देश व्याकुल थियो
शान्तिको अनुपस्थितिमा
जनभरोशा भङ्ग हुँदा
उही युद्धको भङ्खालोमा
खै कसैले बुझेनन् ती वेदना, चिच्याहट र बालरोदनलाई
म रजस्वलाको पीडामा हुँदा
नेपाल आमा
मलाई नै हेर्थिन् ।

म घाइते आशा बोकेर
वेदनाका पराकाष्ठा नियाल्दै
बुद्ध, जनक र सीतालाई एक–एक सम्झन्छु
अरे, विकार त कलमले पखाल्छ
बुद्धिले टल्काउँछ
नैतिकता कुल्चिएका, खुम्चिएका हिटलरी अमानवीयता
म रजस्वला भएकै दिनदेखि
अर्को जोस उनीहरेकी छु
शान्तिको दीप बालेर
एक युगको अवसान र अर्को जवानीको स्वागतद्वारमा
म निरन्तर निरन्तर
नव सन्तति जन्माउन
परिपक्व बन्दै छु ।

३. तृतीय स्थान हासील गर्न सफल कविता

आमाको पुकार
– शोभा गिरी
(सल्यानटार क्याम्पस, सल्यानटार)
आऊ छोरा आऊ रित्तो हात लिएर आऊ
आफ्नै जात लिएर आऊ
म अभैm त जिउँदै छु यहाँ
फगत एक चिम्टी
मायाको सौगात लिएर आऊ
सधैँ भोकले रन्थनिएको बेला
तिमीलाई लाम्टो चुसाएको सम्झन्छु
सधैँ जाडोले कक्रिएको बेला
तिमीलाई न्यानो दिएको सम्झन्छु
मलाई दुखेको बेला
तिमी रोएको सम्झन्छु
तिम्रो पापा र नानाको निम्ति
मैले गरेका सङ्घर्षका यादहरू
तिम्रो खुशीका लागि
मैले कटाएका कष्टका यादहरू
यहाँ मेरा सखी बनेका छन्, अपेक्षाहीन बलिदानहरू
मेरो स्वार्थरहित कर्तव्यहरू ।

हो, छोरा !
आज वृद्धाश्रमको एक कुनामा बसेर
म सम्झिरहेकी छु
मैले तिमीलाई दिएका अर्ती र उपदेशहरू
मैले तिमीलाई सिकाएका सुसंस्कारहरू
कसरी विफल भए ती
मानवताका परिभाषाहरू
अब त तिमी ठूलो भइसक्यो रे
सुखी र सम्पन्न भइसक्यो रे
मान्छेहरू यसै भन्छन्
र तिम्रो कुरा गर्छन्
यसरी कुरा काटेको सहनै सक्दिन म
तिमीलाई नराम्रो भनेको सुन्न
सक्दिन म
त्यसैले तिमी आऊ ।

मुखमा पट्टि बाँधेर भए पनि आऊ
मनमा ईष्र्या साँधेर भए पनि आऊ
पाल्न नसके पनि फाल्न आऊ
बरु पर्दैन पिण्ड चढाउन श्राद्ध गरेर
भोकै बस्न बानी परेकी छु
आँशु देखाउनु पर्दैन भो मलाई
सधैँ आँशुले नुहाउने गरेकी छु ।

४. चतुर्थ स्थान हासिल गर्न सफल कविता

नयाँ नेपाल

– सत्यवती पाण्डे
(एम.एड. प्रथम सेमेष्टर)
आदर्श बहुमुखी क्याम्पस
जर्जर र बाँझो मस्तिष्कमा
जोतेर सपनाको हलो
उन्नत सपनाको बिउ छरेर
उब्जाउन खोजेको हो नयाँ नेपाल
रगतको वर्षात्ले सिँचेर ।

क्रान्तिको पाठशालामा
बन्दुकको कलम भिराएर
कलिला औँलाहरूले
लेखाएर रक्तिम अक्षर
घोकाएर विकासको हिसाब
दुई दुना चारको दुना–
अग्निपरीक्षा उतारिएको हो
नयाँ नेपालको प्रमाण–पत्रमा
उच्च लब्धाङ्कसहितको उत्तीर्ण अभिलाषामा ।

भोका भेडाहरूलाई
चुङ्गाएर कुट्मेरोको घाँसमा
डो¥याउँदै डो¥याउँदै बधशालासम्म पु¥याएर
बेचेका छन्, सुपथ मूल्यमा ।

धेरै कुरा नयाँ भएको छ, नयाँ नेपालमा
भाउजूको रातो फेरिएर
नयाँ सेतो सारी आएको छ
बाले पुराना खुट्टा राष्ट्रिय सेनालाई चढाएर
नयाँ वैशाखीको खुट्टा हालेका छन्
आमाले चढाएर बलिदान आफ्नै सन्तानलाई
पाएकी छिन् देवघाटमा
नयाँ आश्रममा आश्रय
हरिया वनजङ्गलको हरियो रङ्ग सापटी लिएर
बनेका छन् नयाँ हरियो पासपोर्ट
यो के भइरहेको छ नयाँ नेपालमा ?

निधारभरि अक्षता लगाएर
काठमाडौँ विजयादशमी मनाइरहँदा
कर्णाली कुपोषणले मरिरहेको छ
प्रयोगशाला भएको मान्छेको शरीर
हेर त जिउँदै मानिसको दुई सय छवटा
हड्डि गन्न सकिन्छ
ढुङ्गालाई दूध पिलाइरहेका पूजारीहरू
हेर त अनाथ नाबालखहरू भोकले ढलिरहेका
नयाँ त धेरै कुरा देखियो
जस्तो कि नयाँ श्रीपेचविनाको राजा
नयाँ अधिकारविनाको प्रजा ।